काठमाडौं । हावाहुरीका कारण हिमाली जिल्ला हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ । सिमकोट विमानस्थलले बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा शुक्रबार पनि हवाई सेवा अवरुद्ध भएको जानकारी दिएको छ ।
हुम्लादेखि नेपालगञ्ज र सुर्खेत जाने यात्रु तथा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ ।
नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन् । जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि दुई दिनदेखि जिल्ला बाहिर जानका लागि उडान हुन नसक्दा हातमा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका छन् । हवाई सेवा बन्द हुँदा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रुसहित कार्गो सामान रोकिएका छन् ।

यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुनसकेको छैन । घाम लागेपछि दिनहुँ बिहान ८/९ बजेपछि मात्र उडान हुँदै आएकोमा बिहीबारदेखि हावाहुरी चल्दा हवाई सेवा अवरुद्ध हुन पुगेको हो ।




Comments are closed.