युआरएलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर, २ सय ५ जना लाभान्वित

पोखरा । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले दुलेगौँडामा आयोजना गरेको मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी निशुल्क परीक्षणमा २ सय ५ जना लाभान्वित भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अरु सबै प्रकारका रगत जाँचमा समेत ५० प्रतिशत छुट दिइएको थियो ।

शनिबार शिविरसँगै सचेतना कार्यक्रम पनि भएको छ । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले समयमै स्वास्थ्य समस्या पहिचान नहुँदा नेपाली नागरिकको स्वास्थ्य उपचार महंगो बन्न थालेको बताए । ‘सामान्य लक्षण देखिँदा वेवास्ता गरेकै कारण दीर्घरोगसँग लड्नुपर्ने अवस्था देखिन्छ,’ उनले भने, ‘स्वास्थ्यप्रति बेलैमा सचेत हुन सके रोग लाग्नबाट बच्न सकिन्छ ।’

उनले बेला बेलामा जाँच गराउन, समस्या देखिएमा चिकित्सको सल्लाह बमोजिम उपचार गर्न आग्रह गरे । खानपान र जीवनशैली परिवर्तनसँगै समय समयमा जाँच गरे धेरै हदसम्म रोगबाट बाच्न सकिने उल्लेख गरे ।

footwear zone

नागरिकलाई स्वास्थ्यबारे सचेत बनाउँदै सामाजिक उत्तरदायित्व वहन गर्न शिविर आयोजना गरिएको क्लबका अध्यक्ष विष्णुबहादुर रानाले बताए । उनले यस्ता शिविर र सचेतनाले नागरिकमा चेतना बढाएर रोग लाग्नुभन्दा अगावै उपचार गर्ने, सावधान बन्ने बानी बस्ने जनाए ।

सिनियर एओजी मोतिप्रसाद पौडेलले लायन्सले स्वास्थ्य, खानेपानी, शिक्षा लगायत समस्यामा परेका नागरिकबीचमा गएर सहयोग गर्दै आएको स्मरण गरे । उनले समयमै रोगको निदान हुन सकेमा कम खर्चमा स्वास्थ्य लाभ लिन सकिने बताउँदै नियिमत रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने विचार राखे ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले स्थापना कालदेखि नै आफूहरु व्यवसायसँगै सामाजिक कार्यमा जुट्दै आएको बताए । पन्तले लायन्स क्लबसहित विभिन्न सामाजिक संघ, संस्थाको सहकार्यमा भएको शिविरको यो १ सय १२ औँ श्रृखंला भएको जानकारी दिए ।

यस्ता शिविरबाट अहिलेसम्म ८० हजार बढीले निशुल्क स्वास्थ्य सेवा पाइसकेका छन् । अध्यक्ष पन्तले गण्डकी प्रदेशको पहिलो र अग्रणी रेफरेन्स ल्याब भएकाले प्रदेशबासीलाई गुणस्तरीय ल्याब सेवा दिने दायित्व निर्वाह गर्दै आएको सुनाए । उनले भने, ‘प्रदेशलाई स्वास्थ्य प्रयोगशालामा आत्मनिर्भर बनाउने लक्ष्य अनुरुप शाखाहरु विस्तार गरिरहेका छौं । स्थानीय ठाउँमै गुणस्तरीय सेवा दिन शिविरसहित विपन्न र असहायलाई सम्बन्धित निकायको सिफारिस छुट र निशुल्क सेवासमेत दिएका छौं ।’

कार्यक्रममा तनहुँ लायन्स मोडेल भिलेजका चिफ लायन कृष्णप्रसाद पौडेल, जोन चियर पर्सन प्रदीप थापा, क्लबका प्रथम उपाध्यक्ष क्षेत्रबहादुर थापा क्षितीज, कार्यक्रम संयोजक देवीभक्त राना, क्लब सचिव जीवन भट्टराई लगायतले बोलेका थिए ।

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरएलले पोखराकै हस्पिटलचोक, तनहुँको दमौली र शुक्लागण्डकी, लमजुङको बेंसीसहर र स्याङ्जाको वालिङबाट सेवा प्रदान गरिरहेको छ । निकट भविष्यमै स्याङजाको पुतलीबजारबाट पनि सेवा सुरु गर्न लागिएको युआरएलले जनाएको छ ।

सोहि अवसरमा ७ वर्षअघि आफैंले काटेको रुखमा च्यापिएर दुवै खुट्टा गुमाएका रामबहादुर विकलाई ह्विलचियर प्रदान गरिएको थियो । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले क्लबमा आवद्ध सदस्यबाट रकम संकलन गरी सहयोग गरेको हो ।

You might also like

Comments are closed.