गण्डकी । पोखरामा पदयात्रा सम्बद्ध ३ सय६० जना व्यवसायी एवं मजदुरलाई खोप लगाइएको छ ।
पोखरा र आसपासका क्षेत्रमा पर्यटनलाई गतिशील बनाउन तत्काल खोपको व्यवस्था गर्न माग गर्दै आइएकोमा पहिलो चरणमा पर्यटन सम्बद्ध व्यवसायी एवं मजदुरमध्ये दुई हजार ५०० जनालाई खोपको व्यवस्था गरिएकोमा पदयात्रा सम्बद्ध ३६० जनाले खोप लगाएको ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए ।
पोखरा हुँदै यहाँ आसपासका मर्दी हिमाल, अन्नपूर्ण आधार शिविर, घोरेपानी, पुन हिललगायतका स्थानमा पदयात्री जाने गरेको बताउँदै उहाँले आसपासका पदयात्रा मार्गमा पर्यटकको आगमन बढाउनका लागि सबै व्यवसायी तथा मजदुरले खोप लगाउनु आवश्यक भएको बताए । पदयात्रा पर्यटनमा क्रियाशीलमध्ये कतिपयले उमेर समूहका आधारमा खोप लगाइसकेको भए पनि अझै पदयात्रा मार्गमा धेरै व्यवसायी तथा मजदुर खोपको पर्खाइमा रहेको उनले बताए । दशैं, तिहारजस्ता बिदा हुने र घुमफिरमा निस्कने समय नजिकिँदै गरेको अवस्थामा पदयात्रा पर्यटनलाई अघि बढाउन सरकारले यस क्षेत्रमा तत्काल थप खोपको व्यवस्था गर्नु आवश्यक भएको उनको भनाइ छ ।

पोखरामा मात्रै पदयात्रा पर्यटनमा क्रियाशील एक सय ८० सदस्य कम्पनी छन् । कोरोना कहरका कारण अघिल्लो वर्षदेखि नै प्रभावित पदयात्रा पर्यटन अझै उठ्न सकेको छैन ।




Comments are closed.