कोभिडविरुद्धको खोपको माग न्यून

चितवन । जिल्लामा कोभिडविरुद्धको खोप लगाउन चाहनेहरुको सङ्ख्या न्यून हुँदै गएको छ । जिल्लामा खोप कार्यक्रममा लगाउन आउनेहरुको सङ्ख्या अत्यन्त न्यून हुँदै गएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार हालसम्म जिल्लामा पहिलो मात्रा तीन लाख ११ हजार ८ सय ८९ जनाले लगाइसकेका छन् । पूर्ण मात्रा लगाउनेको सङ्ख्या दुई लाख ५९ हजार ९ सय ७७ रहेको छ । पहिलो मात्रा कोभिडसिल्ड ३९ हजार ९ सय २१, भेरोसेल दुई लाख ३१ हजार ११ र एस्ट्राजेनिका ४० हजार ९ सय ५७ जनाले लगाएको उनले जानकारी दिए ।

पूर्ण मात्रा लगाउनेमा कोभिसिल्डका ५८ हजार ३ सय २१ र भेरोसेलका एक लाख ६३ हजार ८८ जोन्सन ३८ हजार ५ सय ६८ जना रहेका छन् । जिल्लामा २०७७ साल पुस ५ गतेसम्म १८ वर्ष पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या तीन लाख ६८ हजार ३ सय ८२ छ । यस समययता पाँच हजार हाराहारी फोटो खिचेर नाम दर्ता गराउने प्रक्रियामा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

footwear zone

कार्यालय प्रमुख तिवारीका भनाइमा ८० प्रतिशत हाराहारीले खोप लगाइसकेका छन् । बाँकी हुनेहरुका लागि हरेक हप्ताको बिहीबार स्वास्थ्य कार्यालय परिसरमा खोप लगाउने व्यवस्था गरिएको छ । अन्य पालिकाहरुमा ठूलो सङ्ख्या भएमा खोप लगाइने उनले बताए । अन्यथा एक–दुईजना भएमा यहीँ आएर बिहीबार लगाउने व्यवस्था गरिएको उनको भनाइ छ ।

उनका अनुसार पहिले पहिले खोपको निकै माग हुने गरेकामा अब खोप लगाउन छुटेकाहरुको खोजी गर्नुपर्ने दिन आएको छ ।

भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टका अनुसार महानगरपालिकामा ५५ प्रतिशतले खोप लगाइसकेका छन् । बाँकी हुनेहरुलाई साताको एक दिन खोप लगाउने व्यवस्था गरिएको छ । छुटेकाहरुलाई खोप लगाउन महानगरपालिकाले अनुरोध गर्दै आएको छ ।

खैरहनी नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख अनुप अधिकारीले पहिलो मात्रा खोप लगाउन माग गर्नेको सङ्ख्या खासै नभएको बताए । कतिपयले जोनसोन खोप लगाउन चाहेको भए पनि अन्य खोपका लागि माग नभएको बताए । उनका अनुसार ८० प्रतिशतभन्दा बढी नगरवासीले खोप लगाइसकेका छन् ।

परिवार कल्याण महाशाखाका प्रमुख सागर दाहाल ग्रामीण क्षेत्रहरुमा खोपका लागि अभियान चलाउनुपर्ने बताए । उनले भने, “खोज र खोपको अभियान सञ्चालन गर्नुपर्छ ।” ग्रामीण क्षेत्रमा पछाडि परेका समुदायहरु खोप लगाउनबाट छुटेको जनाउँदै उनले उनीहरुलाई लक्षित गरी पालिकाहरुले कार्यक्रम ल्याउनुपर्ने जानकारी दिए ।

काठमाडौंमा चार ठाउँमा अभियानमार्फत खोप केन्द्र सञ्चालन गर्दा दुई दिनमा ६ हजारले खोप लगाएको उदाहरण दिँदै उनले अभियान नै चलाउनुपर्ने बताए ।

You might also like

Comments are closed.