खोप हिताधिकारीलाई प्राथमिकताका साथ उपलब्ध गराउछौं : प्रधानसेनापति

हेटौँडा । प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनलाई प्राप्त कोभिडविरुद्ध खोप हिताधिकारीलाई प्राथमिकताका साथ उपलब्ध गराउने बताएका छन् ।

मकवानपुरको हेटौँडास्थित श्री मध्य पृतनामा प्रदेशस्तरीय भूपूूसैनिक सम्मेलन–२०७७ मा उहाँले सङ्गठनको उद्देश्यअनुरुप नै भूपूसैनिक र एकल महिलाका प्रतिनिधिलाई आजैदेखि खोप प्रदान गर्ने कार्यको शुरुआत भएको जानकारी दिए । सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा सेनाको व्यवस्थापनमा वाग्मती प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार, आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ उक्त सम्मेलन आयोजना भएको थियो । सो अवसरमा प्राथमिकताका आधारमा १८ जना हिताधिकारीलाई कोभिड–१९ को खोपसमेत प्रदान गरिएको थियो ।

सम्मेलनमा वाग्मती प्रदेश आठ जिल्लामा बसोबास गर्ने सात हजार ४३६ नेपाली सेनाका भूतपूर्वसैनिक तथा परिवारजनको सहभागिता थियो । प्रधानसेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यतालाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गरे । अवकाश प्राप्त गरी सकेपछि पुनः रोजगारीका लागि विदेशीने अवस्थाको अन्त्य गरी स्वेदशमा नै स्वरोजगारीका अवसर सृजना गरी परिवारसँगै सुखमय जीवनयापनका लागि नेपाली सेनाले सैनिक कल्याणकारी गतिविधिहरुलाई विविधीकरण गरी सर्वसुलभ बनाउन अधिकतम प्रयास गर्दै आएको बताएका थिए ।

footwear zone

कार्यक्रममा ज्येष्ठ भूतपूर्व सैनिक थाहा नगरपालिका–३ पालुङ्ग, मकवानपुर निवासी ९८ वर्षीय पुरानो गोरख गणबाट अवकाश प्राप्त सुवेदार गजेन्द्रबहादुर कार्की, शम्शेर दल गणबाट अवकाश प्राप्त स्व सिपाही नन्दप्रसाद पाल्याको श्रीमती गोमा ढकाललाई सम्मान गरिएको थियो । त्यसैगरी, सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल नुवाकोट जिल्ला विदुर नगरपालिका निवासी राजकुमार आचार्य लगायतलाई सम्मान गरिएको थियो । समारोहमा चार वा सोभन्दा बढी सन्ततिलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने आमा÷बुबालाई सम्मान गरिएको थियो । फरक क्षमता भएका तथा अशक्त ४९ जनालाई ह्विल चियर, वैशाखी र आर्थिक सहयोग प्रदान गरिनाका साथै लघुवित्त कार्यक्रमअन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।

You might also like

Comments are closed.