कृष्ण न्यौपाने/दमौली । बुधबार राति परेको भीषण वर्षाले छाब्दी खोलाको पक्की पुल भत्कियो । व्यास नगरपालिकाको भादगाउँ र बेलवास जोड्ने पक्की पुल भत्किएसँगै ग्रामीण बस्तीसँग सदरमुकाम दमौली बजारको दूरी पनि बढेको छ । अठार वर्ष अगाडि बनेको मोटर गुड्ने यही पुलबाट आवतजावत गर्ने सर्वसाधारणले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता आइपरेको छ ।
बुद्धसिं मार्गअन्तर्गत निर्मित पुल भत्किएपछि यातायात सञ्जालबाट ग्रामीण बस्तीको सम्बन्ध टुटेको छ । किसानले उत्पादन गरेका कृषि उपज दमौली ल्याएर बिक्री गर्न सास्ती भएको छ । ग्रामीण भेगमा दैनिक उपभोग्य वस्तु ढुवानी हुन सकेको छैन ।
पुल भत्किएसँगै तनहुँको दक्षिणी भेगसँगको सम्पर्क टुटेको बेलवासका स्थानीयवासी यामबहादुर आलेले बताए । “बुद्धसिं मार्गअन्तर्गत योबाहेक अर्को कुनै पुल थिएन, बल्ल बल्ल सुडेमा एउटा पुल बनेको छ, दमौलीलाई जोड्ने यो मात्रै एउटा पुल थियो”, आलेले भने, “पुल भत्किएसँगै दमौलीसँगको सम्पर्क टुट्यो ।”

यही पुल हुँदै व्यास–१३ को बेलवास, पोखरीभञ्ज्याङ, व्यास–१४ को केशवटार, सुढे, ऋषिङको हुस्लाङ, गुम्लेक, देवघाट, आँबुखैरेनी, बन्दीपुर लगायतका ग्रामीण भेगका बासिन्दा आवतजावत गर्दथे । तनहुँ क्षेत्र नं १ र २ अन्तर्गतका दक्षिणी भेगलाई जोड्ने यो पुल भत्किएसँगै स्थानीयवासीलाई समस्या भएको उनको भनाइ छ । “पुल भत्किएसँगै सर्वसाधारणलाई आवतजावत गर्न समस्या त भएको छ नै कृषि उपज सामग्री, दूध लगायतका सामग्री बिक्री वितरण पनि प्रभावित भएको छ”, आलेले भने ।
उनका अनुसार यही पुल हुँदै यस भेगका सर्वसाधारणले दूध, निउरो, तरकारी लगायतका कृषि उपज बिक्री गर्न जान्थे । “गरीबहरुले एक छाक टार्नका लागि तरकारी बिक्री गर्न पनि नपाउने भए, पुल भत्किएपछि ठूलो सङ्कट आइपरेको छ”, आलेले भने, “छिटोभन्दा छिटो यहाँ पुल बन्नुपर्छ ।” पुल भत्किएसँगै सङ्घ, प्रदेश र स्थानीय सरकारको चासो रहेको पाए पनि सरकारी कामको ढिलासुस्तीले पुल निर्माणमा ढिलाइ हुने हो कि भन्ने चिन्ता थपिएको उनि बताउछन् ।
भादगाउँतर्फका सर्वसाधारण बेलवासमा खानेपानी लिन जाने गर्दथे । पुल भत्किएसँगै त्यो काम पनि रोकिएको छ । भत्किएको पुलबाट सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न थालेपछि बेलवासका स्थानीयवासी मिलेर बाँसको फड्के बनाएको भएपनि यसबाट वारपार गर्न जोखिम छ । बाढीपहिराबाट पीडित भएका सर्वसाधारणलाई खाद्यान्न ढुवानी गर्न समस्या भएको छ ।
पुल भत्किएसँगै यस भेगका बासिन्दा बिरामी परे तत्काल उपचारका लागि स्वास्थ्य संस्थासम्म पु¥याउन पनि समस्या हुने देखिएको छ । “तत्कालै यहाँ पुल निर्माण गर्नेतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जाओस्”, उनले भने । दैनिक सयौ सवारी साधन र हजारौँ सर्वसाधारण आवतजावत गर्ने पुल भत्किएसँगै दक्षिणी भेगका बासिन्दा प्रभावित भएको व्यास–१ हाई स्कुलटारका बेलबहादुर रानाभाटले बताए ।
पुल भत्किएसँगै यहाँका कृषकलाई दूध दमौली बजारसम्म लगेर बिक्री गर्न समस्या भएको स्थानीयवासी राजन सापकोटाले बताए । “उत्पादित दूध घरमै राख्नुपर्ने बाध्यता आइपरेको छ, कतिपयले त एक घण्टाको पैदल बाटो घुमेर बोकेरै पनि लगे, तर यो सधै सम्भव छैन”, उनले भने, “छिटोभन्दा छिटो पुल निर्माण गरिदिए कृषकलाई सहज हुन्छ ।” बेलबासमा ६० भन्दा बढी कृषकले दैनिक रुपमा दूध बिक्री गर्ने गर्दछन् । यहाँबाट दैनिक डेढ लाखभन्दा बढीको दूध बिक्री हुन्छ । “पुल भत्किएसँगै पशुलाई खुवाउने दाना ढुवानीमा समस्या भएको छ”, उनले भने, “छिटोभन्दा छिटो पुल बन्नुपर्छ ।”
पुल भत्किएर सर्वसाधारणलाई समस्या भएपछि यहाँ बेलिब्रिज राखिने भएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रक्रिया शुरु भइसकेको तनहुँ क्षेत्र नं १ का विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए । तनहुँ र गोरखा पालुङटार जोड्ने मस्र्याङ्दी नदीमा रहेको बेलिब्रिज बेलबासमा जडान गरिने भएको छ । रासस




Comments are closed.