बागलुङको पात्लेगाउँका घरघरमा धारा

बागलुङ । दुई वर्ष अगाडिसम्म बागलुङको बडिगाड–१० पात्लेगाउँका बासिन्दा कुवा, पोखारी र कुलाको दूषित पानी उपभोग गर्न बाध्य थिए । अहिले नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले घरघरमा धारो निर्माण गरिदिएपछि गाउँले सहज बनेको छ ।

पात्लेगाउँका ८७ वर्षीय दलबहादुर रास्कोटीले गाग्रीमा पानी बोक्न थालेको ८१ वर्ष भयो । छ वर्षको उमेरदेखि नै खानेपानी बोकेर उपभोग गर्दै आएका रास्कोटीको मुहारमा अहिले खुसी छाएको छ। घरघरमा धारा निर्माण भएपछि रास्कोटीलगायत सिङ्गो गाउँलेको अवस्था फेरिएको छ। यसअघि बस्ती नजिक खानेपानीको मुहान नहुँदा गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो । अहिले उक्त समस्याबाट स्थानीय मुक्त भएका छन् ।

वर्षौंदेखि पोखरी र कुवाको फोहर पानी छानेर उपभोग गर्नुपर्ने बाध्यता थियो। एक गाग्री पानी ल्याउन तीन घण्टाको यात्रा गर्नुपथ्र्यो ।“बाउबाजेले यस्तै कुवा, पोखरीको पानी खाए, हामीले पनि सानैदेखि टाढाबाट पानी बोकेर खायौँ, बल्ल घरमा पानी आयो”, रास्कोटीले भने।

footwear zone

रास्कोटीले तीन घण्टा टाढाको छिमेकी गाउँ दर्लिङखोलाबाट पानी बोकेर उपभोग गरेको विगत सुनाए। “अधिकांश समय पानी बोक्नमै बित्थ्यो”, रास्कोटी भन्छन, “पानी भर्न छिमेकीसँग झगडा हुथ्यो ।”

स्थानीय शान्ती थापा सहर बजार नजिकको गाउँमा घरमा धारा नहुनु दुःखद कुरा भएको बताउछिन्। थापा भन्छिन्, “हामी काकाकुल भयौँ, खानेपानीका लागि विभिन्न निकायलाई गुहार्‍यौँ, कुनै सुनुवाइ भएन ।”

घण्टौँ लगाएर खाली खुट्टा पानी बोक्दा बिरामीसमेत हुने गरेको थापाले विगत स्मरण गरिन। समयमा पानी ल्याएर घर नआउँदा बालबालिकालाई विद्यालय पठाउनसमेत नसेको उनले बताइन् । “टाढाको पानी, बिहान उज्यालो नहुँदै जानुपथ्र्यो, नत्र पालो पाउन मुस्किल पथ्र्यो, केटाकेटीलाई स्कुल पठाउन अबेर हुन्थ्योे”, थापाले भनिन्, “कति समय त फोहर पानी खाँदा बिरामी पनि परियो।”

स्थानीय सुनिता विकले चाँडो पालो पाउनका लागि रातको समयमा जङ्गलको बाटो हिँडेर पानी बोकेको अनुभव सुनाइन। थापा भन्छिन्, “पानी बोक्नुपर्दा खाना र खाजा खाने समय एउटै हुन्थ्यो, अरु काम गर्ने समय नै मिल्दैनथ्यो ।”

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका योजना अनुगमन निरीक्षक विनोद कोइरालाले प्राथमिकतामा राखेर खानेपानीको व्यवस्थापन गरिएको बताए। उनले जिल्लाका अन्य ठाउँमा समेत नेवाले पानीको व्यवस्थापन गरिरहेको बताए । घना जङ्गलबीचको पात्लेगाउँमा २९ घरमा २१ धारा निर्माण गरिएको छ।

धारा निर्माण गर्न करिब रु ४५ लाख खर्च भएको नेवाले जनाएको छ। यसका लागि नेवाले रु ३१ लाख ५० हजार, बडीगाड गाउँपालिकाले रु तीन लाख ८३ हजार र स्थानीयले रु १० लाख बराबरको श्रमदान गरेका थिए। गाउँदेखि छ किलोमिटर टाढाको निगलपानी मुहानबाट पाइपलाइनमार्फत पानी ल्याइएको हो ।

You might also like

Comments are closed.