यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने सम्भावना

काठमाडौं ।  यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले बिहीबार एक कार्यक्रमको आयोजना गरी यस वर्षको मनसुन समय (जेठ १८ देखि असोज १३गते) को हावापानी आकलन प्रक्षेपण गरेको हो ।

विभागले सन् २०१३ देखि हरेक वर्ष मनसुनको समय सुरु हुनुपूर्व ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी मनसुन समयको हावापानी आकलन सरोकारवालालाई प्रवाह गर्दै आइरहेको छ । यसै सिलसिलामा विभागले आज सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी मनसुन समयको वर्षा तथा तापक्रमको आकलनको जानकारी गराएको छ ।

footwear zone

आगामी मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । कोशी प्रदेशका मध्य तथा उत्तरपूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भू–भाग र मधेश प्रदेशका अधिकांश भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

यसैगरी अधिकतम् तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ रहेको विभागले जनाएको छ । न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना छ । धेरैजसो भू–भागमा न्यूनतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । यस्तै सुदूरपश्चिम प्रदेशका मध्य भू–भाग, कर्णाली प्रदेशका मध्यपश्चिमी भू–भाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका पूर्वी तथा पश्चिमी भू–भाग र मधेश प्रदेशका पूर्वी भू–भागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

यस कार्यक्रमको प्रमुख उद्देश्य आगामी मनसुन समयको वर्षा तथा तापक्रमको ऋतुगत आकलनबारे जानकारी गराइनाका साथै छलफलमार्फत सरोकारवालाको आवश्यकता पहिचान गरी सोहीअनुसार विभागको सेवा प्रवाहको सुदृढीकरण, सरोकारवालालाई मौसम तथा जलवायु सूचनाका बारेमा जानकारी गराइ आ–आफ्नो क्षेत्रको आगामी योजना तर्जुमालगायत जलवायु सूचित निर्णय प्रक्रियामा सहयोग पु¥याउनु रहेको विभागको भनाइ छ । रासस

You might also like

Comments are closed.