ऊन प्रशोधन गर्ने उपकरण नहुँदा समस्या

सन्तोष गौतम/निरज थकाली, म्याग्दी । नेपालमा ऊन प्रशोधन गर्ने उपकरण र प्रविधि नहुँदा समस्या भएको छ । उपकरण र प्रविधि अभावले पस्मिनाको कच्चापदार्थमा आत्मनिर्भर बन्ने नेपाली उद्योगीको योजनामा चुनौती थपिएको छ ।

स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पस्मिना बनाउने धागो उत्पादन गर्ने तयारीमा जुटेका उद्योगीलाई प्रविधि र उपकरण अभाव भएको हो । सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले हिमाली क्षेत्रमा च्याङ्ग्राको ऊन (भुवा) सङ्कलन गर्न थालिए पनि प्रशोधन गर्ने उपकरण नेपालमा नभएकाले समस्या भएको बताए । मङ्गोलिया र चीनबाट ल्याउने कच्चापदार्थको विकल्पमा नेपालकै भुवा प्रशोधन गरेर धागो उत्पादन गर्ने उपकरण नहुँदा सङ्कलित ऊन (भुवा) प्रशोधनका लागि विदेश पठाउनुपर्ने अवस्था आएको उनले बताए ।

‘मुस्ताङको चराङमा सङ्कलन केन्द्र खोलेर रु एक करोड २५ लाख बराबरको दुई हजार ८०० किलोग्राम ऊन खरिद गरेका छौँ,’ उनले भने, ‘विज्ञले दुई महिनाभन्दा बढी समय भण्डारण गरेर राख्न नमिल्ने सुझाव दिएका छन् । प्रशोधनका लागि विदेश पठाउन सहकारसँग पहल गरिरहेका छौँ । विदेश लैजान नसके सङ्कलन गरेको ऊन कुहिने र करोडौँ लगानी डुब्ने खतरा छ ।’

footwear zone

काठमाडाँैमा ऊन प्रशोधन गर्न सङ्घको अगुवाइमा स्थापना भएको नेपाल फाइबर प्रोसेसिङ उद्योग सञ्चालन नहुँदासम्मका लागि प्रशोधन गर्न चीन पठाउनुपर्ने उनले बताए । सङ्घले गत साउनमा मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको चराङमा सङ्कलन केन्द्र स्थापना गरेको छ । नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चा पदार्थका रुपमा प्रयोग हुन्छ ।

सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यकपर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट च्याङ्ग्राको भुवा खरिद गरिएको सङ्घका कोषाध्यक्ष कृष्ण पङ्गेनीले बताए । सङ्घको टोली मुस्ताङ सङ्कलन केन्द्र उद्घाटन र च्याङ्ग्रा तथा पस्मिना कृषक सङ्घ गठन गरेर म्याग्दी हुँदै शुक्रबार काठमाडौँ फर्किएको छ ।

वाणिज्य र उद्योग मन्त्रालयका सचिव तथा युरोपियन युनियनको नेपालस्थित कार्यालयका राजदूत नोना डेप्रेज च्याङ्ग्राको भुवाको सम्भाव्यता अध्ययनका लागि यसैहप्ता मुस्ताङ पुगेर फर्कनुभएको थियो । विश्वव्यापार सङ्गठनले परामर्शदाता सिचन श्रेष्ठलाई अध्ययनका लागि मुस्ताङमा पठाएको छ । श्रेष्ठले २० प्रतिशत कृषकले मात्र हाल च्याङ्ग्राको भुवा निकाल्ने गरेका र त्यसले पनि बजार नपाएको बताए ।

पस्मिना उद्योगी भीम शेरचनले मुस्ताङको मात्र भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत धागोको आयात घटाउन सकिने बताए । ‘परम्परागत र अव्यस्थितरुपमा सङ्कलन गरिएको मुस्ताङको भुवा प्रशोधन गर्दा ३० प्रतिशत प्रयोगयोग्य हुने देखिएको छ,’ भने, ‘च्याङ्ग्रापालन र भुवा सङ्कलनलाई आधुनिक र व्यवस्थित बनाउने हो भने गुणस्तर बढाउन सकिन्छ ।’

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो । तिब्बती सीमा कोरला नाकामा अन्तरदेशीय व्यापार मेला हुँदा चिनियाँ व्यापारीले सामानसँग ऊन साँट्ने गरेका थिए । कोरोनाका कारणले पछिल्लो दुई वर्षयता व्यापार मेला नहुँदा करोडाँै मूल्यको ऊन बिक्री हुन सकेको थिएन ।

जोमसोममा २०३० मा घरेलु उद्योगको सहयोगमा स्व छत्रबहादुर थकालीले मुस्ताङ पस्मिना तथा फुलु उद्योग स्थापना गरेका थिए । थकालीका छोरा डा शैलेन्द्र थकालीले यातायात, बजार, औजार र उचित बजार भाउको अभावमा घाटा भएपछि केही समयमै उद्योग बन्द गर्नुपरेको बताए । खेर गइरहेको ऊनले उचित मूल्य र बजार पाएपछि कृषकमा खुसियाली छाएको छ । लोमान्थाङ, कागबेनी र जोमसोममा पनि भुवा सङ्कलने केन्द्र राख्न कृषकले प्रस्ताव गरेका छन् । कृषकले केन्द्रमा ल्याउने ऊन सङ्कलन गरेर सङ्घले खरिद गरी काठमाडौँ लैजाने सम्झौता भएको छ ।

अप्रशोधित ऊन सदरदर मूल्य प्रतिकिलो रु चार हजार ५०० मा खरिद गर्ने गरेको सङ्घले जनाएको छ । वैशाख र जेठमा च्याङ्ग्राको शरीरबाट ऊन निकाल्ने गरिन्छ । मासुका लागि प्रसिद्ध हिमाली च्याङ्ग्राको छाला र मल पनि बिक्री हुन्छ ।

पस्मिना उद्योगी उत्सव खनालले च्याङ्ग्राको सङ्ख्या बढाउन, हिउँदमा आहाराको व्यवस्थापनका लागि घाँसखेती, भण्डारण र महामारीबाट बचाउन खोपको व्यवस्थापन गर्नुपर्ने बताए । च्याङ्ग्राको ऊन पस्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो । भेडा र चौँरीको तुलनामा च्याङ्ग्राको ऊनलाई गुणस्तरीय मानिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । रासस

You might also like

Comments are closed.