पोखरा । आन्तरिक पर्यटक मार्फत् ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका वडा नं १ झिल्ली बरेङमा पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानको विषयमा जानकारी लिएका छन् ।
कोभिड १९ पछि घरवास व्यवसायमा अवसर र चुनौती विषयक अन्तक्रिया कार्यक्रम मार्फत व्यवसायी महिलाले सो ठाउँको बारेमा जानकारी लिएका हुन् ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पौडेलले कोभिड १९ का कारण सुस्ताएको पर्यटनलाई गति दिन ग्रामिण पर्यटनमा जोड दिएर प्रचार प्रसार गर्नुपर्ने बताए । कोभिड–१९ का कारण धेरै मानिसले शान्त र प्राकृतिक स्थलको खोजी गरेको जनाउँदै बरेङको होमस्टेमा महिला पर्यटन व्यवसायीको पहिलो आगमन भएको उनको भनाइ थियो । उहाँका अनुसार बरेङ अन्नपूर्ण हिमश्रृखंला, लालिगुराँस, भिर मौरी लगायत गुरुङ, मगरबस्तीको सांस्कृतिक पहिचान रहेको सुन्दर गाउँ हो । गाउँपालिकामा २० वटा होमस्टे भएपनि हाल १२ वटा सञ्चालनमा छन् । पोखराबाट १० किलोमिटरमा उक्त गाउँपालिको सिमाना जोडिएको छ ।
उक्त गाउँपालिका वडा नं १ का वडा अध्यक्ष गौप्रसाद गुरुङले प्राकृतिक सुन्दरतासँगै समुदायको आतिथ्यताले भिल्ली बरेङ आउने पाहुनालाई लोभ्याउने बताए । कोभिड १९ का कारण आन्तरिक पर्यटकको आगमन कम हुँदै गएको उनले बताए ।
वडा सदस्य भुलबहादुर पौडेले गण्डकी प्रदेश सरकारले घरबास कार्यक्रमलाई प्राथमिकता दिएको जनाउँदै यसले ग्रामिण पर्यटनलाई प्रर्वद्धन गर्दै लगेका धारणा राखे । लेकसाइडका महिला पर्यटन व्यवसायीको उपस्थितीले यस क्षेत्रलाई थप चिनाउने विश्वास समेत व्यक्त उनले व्यक्त गरे ।

उक्त घरबासका अध्यक्ष गर्बी गुरुङले पहिलो चरणमा महिला व्यवसायीलाइ स्वागत गर्न पाउँदा खुशी लागेको बताइन् । उनले प्रारम्भिक चरणमा रहेकाले आवश्यक सल्लाह सुझाव दिन समेत आग्रह गरिन् ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)का संस्थापक अध्यक्ष जमुना पराजुलीले कोभिड १९ पछि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको जनाउँदै यस्ता कार्यक्रमले ग्रामिण पर्यटनमा प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन् । संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोभिड १९ चुनौतीका बीच पनि अवसरको खोजी गर्दै पर्यटकीय गन्तब्यको प्रचार प्रसारमा सबै जुट्नु पर्ने धारणा राखिन् ।
सो कार्यक्रममा संस्थाका सल्लाहकार दुर्गा ढकाल, देवका पहारी, पम्फा पहारी कार्यक्रम संयोजक रीता रेग्मी लगायतका सहभागी सदस्यहरुले अवसरसँगै देखिएका चुनौतीका विषयमा आआफ्नो अनुभवहरु व्यक्त गरेका थिए । कोभिड १९ ले शान्त र प्राकृतिक स्थलको खोजी, साहसिक पदयात्रा प्रति पर्यटकको रुचीले ग्रामिण पर्यटन प्रवद्र्धन हुँदै गएको उनिहरुको भनाइ थियो । त्यसैगरी कोभिड बढ्दै गएको अवस्थामा स्वास्थ्य मापदण्ड पालना नहुँदा थप समस्या सृजना हुन सक्ने तर्फ पनि छलफल गरिएको थियो ।
नेपाल पर्यटन बोर्ड आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकीको प्रवद्र्धनमा आयोजना गरीएको उक्त घरबास कार्यक्रममा संस्थाका कार्यसमिति लगायत २४ जनाको सहभागिता रहेको सचिव ममता न्यौपानेले जानकारी दिइन् । सो अवसरमा संस्थाका मिडिया सल्लाहकार जमुना वर्षा शर्मालाई नेपाल पत्रकार महासंघका कास्कीको निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित हुन सफल भएकोमा सम्मान गरिएको थियो ।




Comments are closed.