पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले संस्थाका सदस्यहरुको मानसिक एवम् शारीरिक स्फूर्तिका लागि आयोजना गरेको १५ दिने योग शिविर समापन भएको छ । पर्यटन क्षेत्रमा क्रियाशिल व्यवसायी महिलाहरुको संस्था ओटेफले कोरोना महामारीका कारण व्यवसाय ठप्प हुँदा यसबाट सिर्जित हुनसक्ने मानसिक तनावसँगै स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर १५ दिने योग शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष पार्वती पाण्डेले जानकारी दिइन् ।
स्वस्थ जीवनका लागि योगको महत्व निकै रहे पनि व्यवहारिक अभ्यास हुन नसकेको जनाउँदै कोरोना महामारीको समयमा योग शिविर यसको महत्वलाई उजागार गरेको बताइन् । उनका अनुसार हरेक दिन बिहान साढे पाँचबजेबाट सातबजेसम्मको समयमा भर्चुअल माध्यमबाट योग गुरु दुर्गादेव सुवेदीले योग साधनाको अभ्यास गराएका थिए । योग गुरु सुवेदीले व्यवसायको क्षेत्रमा सक्रिय महिलाहरुले योग साधनाको महत्व बुझेर शिविर सञ्चालन गर्नु निकै सकारात्मक भएको जनाउँदै दैनिक जीवनमा योगाभ्यास गर्नसके तन मन र मष्तिस्कलाई स्वस्थ राख्न सकिने बताए ।
योग शिविर उद्घाटनको दिनमा संस्थाका उपाध्यक्ष उमा रेग्मी भण्डारीले योग प्रशिक्षकको परिचय गराउनुका साथै कार्यक्रममा सहभागीलाई स्वागत गरेकी थिइन् ।

समापन कार्यक्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना महामारीबाट सिर्जित अवस्थाले धेरै पर्यटन व्यवसायीलाई मानसिक तनाव निम्त्याइरहेको जनाउँदै यसको व्यवस्थापन गर्न योग साधनाको आवश्यकता औल्याए । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने योगाभ्यासले शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलनमा ल्याउन सहयोग पुर्याउने बताए ।
ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले विभिन्न जिम्मेवारी र भूमिकामा रहेका व्यवसायी महिलाहरुका लागि योगाभ्यासले ऊर्जा प्रदान गर्न सफल भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मी योग्याभ्यास गर्दा हुने फाइदाको बारेमा आफ्नो अनुभवहरु सुनाएका थिए ।
कार्यक्रममा अमेरिकाबाट योग गुरु ललित शंकर योगीले पनि योग महत्वको बारे आफ्नो धारणा राखेका थिए । दैनिक ८० देखी एकसय जनाको सहभागिता रहेको सो कार्यक्रममा देश विदेशबाट पनि सहभागिता रहेको कार्यक्रम संयोजक शर्मिला न्यौपानेले जानकारी दिइन् । संस्थाका सचिव ममता न्यौपानले कोरोना कहरको समयमा पनि भर्चुअल माध्यमबाट पर्यटन व्यवसायी महिलाको क्षमता दक्षता अभिवृद्धिका विविध कार्यक्रम सँगै पछिल्लो पटक तनाव व्यवस्थापन र शारीरिक स्फूर्तिका लागि योग शिविरको आयोजना गरेको जानकारी दिइन् ।





Comments are closed.