काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपालको सबैभन्दा ठूलो हवाई सञ्जाल भएको वायुसेवा कम्पनी यती एअरलाइन्स आजबाट २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । २१ सेप्टेम्वर, १९९८ बाट पहिलो उडान शुरु गरेको यतीले सोही दिनलाई बार्षिक उत्सवको रुपमा मनाउने गरेको छ ।
नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यती एयरलाइन्सले आफ्नो भगिनी संस्था तारा एअरसहित २३ वर्षदेखि नेपाली आकाशमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
स्थापनाको सुरुवाती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधी, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले जानकारी दिए ।

“यती एअरलाइन्स र तारा एअरका साहसी पाइलट एवं आत्मविश्वासी चालकदल, दक्ष प्राविधिक, तालिम प्राप्त कर्मठ कर्मचारी, साझेदार सङ्घसंस्थाहरुको लगन, मेहनत, इमान्दारी तथा यात्रुहरुको विश्वासले यती एयरलाइन्सले गौरवमय २३ वर्षे इतिहास पूरा गर्न सफल भएको हो, यसका लागी हामी सवैलाई हार्दिक धन्यवाद व्यक्त गर्दर्छौ”– सिईओ रिमालले भने ।
२४ वर्षे यात्रासंगै यतीले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसंग रहेको ५ वटा विमान विक्री गरेको हो ।
यती एयरलाइन्सले २३ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै आजबाट कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ । कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडान सम्बन्धी जानकारी लिन सकिने र उडान सम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यती एअरलाइन्सले जनाएको छ ।
एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडादर, झन्झट रहित यात्रा, गुणस्तरीय सेवा र यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेको कारण यती एअरलाइन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाईमा पर्न सफल भएको बताए ।
“विरामी, अपाङ्गता वा फरक क्षमता भएका यात्रु महानुभाव, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखि सुरक्षित रुपमा गन्तव्यमा पु¥याई सन्तुष्ट सेवा प्रदान गर्दै आएका छौँ,”– उनले भने ।
यती एयरलाइन्स नेपालको पहिलो र एकमात्र कार्वन न्युट्रल एयरलाइन्स हो । वातावरण संरक्षणमा यती एअरलाइन्स उत्तिकै संवेदनशील र सक्रिय रहेको प्रवक्ता बर्तौलाको भनाई छ ।
यतीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकायहरुको सहकार्यमा सगरमाथा सफाई अभियानमार्फत् सगरमाथा लगायत खुम्बु क्षेत्रबाट हालसम्म करिब १०० टन फोहोर एअरलिफ्ट गरिसकेको छ । यस्तै, विभिन्न जिल्लमा दुईलाख ७२ हजार ६०० वटा विरुवा वृक्षारोपण गरिसकेको छ । वायुयानभित्र प्लाष्टिक कपको सट्टा पेपर कप प्रयोगमा ल्याएको, विद्युतीय सवारीसाधनलाई प्राथामिकताका साथ प्रयोगमा ल्याएको कम्पनीले जनाएको छ ।
हवाई र पर्यटनमा मात्र नभई खेलकुदको क्षेत्रमा पनि यतीको विशेष योगदान रहेको छ, विशेषगरी क्रिकेट, फुटबल र गल्फमा पनि यती एअरलाइन्सको प्रत्यक्ष योगदान रहेको छ ।
कोभिड–१९ महामारीको चुनौतीमा समेत उच्च सुरक्षा सतर्कता अपनाउँदै प्रवाह गरेको सेवा प्रशंसनीय छ । अहिलेको अवस्थामा आफू स्वस्थ रही संक्रमणलाई नियन्त्रण राख्न सफल भयौं भने मात्र हाम्रा उद्देश्य र मूल्य मान्यता जोगाउन सफल हुनेछौं भन्ने मान्यताले गर्दा लाखौं यात्रुहरुलाई सुरक्षित यात्रा गराउन सफल भएका कम्पनीले जनाएको छ ।
आगामी वर्षमा वायुयानको संख्या थप गर्ने, नयाँ गन्तव्यमा उडान थप गरी बजार हिस्सा बढाउने, थप रोजगारी सृजना गर्ने, चार्टर उडान मार्फत् अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्ने, नयाँ प्रविधिहरुलाई प्रयोगमा ल्याई हवाई सेवालाई परिष्कृत गर्दै थप गुणस्तरीय बनाउने र यात्रुहरुलाई प्रत्यक्ष लाभ हुने सहुलियत अफरहरु ल्याउने तथा सामाजिक उत्तरदायित्वहरुलाई निरन्तरता दिने प्रवक्ता बर्तौलाले बताए ।
यतीले हाल पाँचवटा एटिआर विमानमार्फत् नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनी संस्था तारा एअरको ४ वटा ‘ट्वीन–अटर’ विमानमार्फत् दुर्गम हिमाली तथा पहाडी भागहरु लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।




Comments are closed.