काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्र्याएर गन्तव्यका साथै उडान सङ्ख्या बढाउने भएको हो । यतीको एटिआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौँ आइपुग्नेछ । योसहित यतीसँग छ थान एटिआर जहाज हुनेछन् ।
कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीपछि खुलेको आन्तरिक उडानमा यतीले तीन एटिआर जहाजमार्फत आन्तरिक उडान गरिरहेको थियो । आगामी मार्चदेखि यतीले हाल भएका पाँचवटै एटिआर जहाज उडाउनेछ । थपिएको एटिआरले पनि छिट्टै उडान भर्ने कम्पनीको योजना छ ।
जहाज थपिएपछि मार्च महिनाबाट पूर्ण क्षमताका साथ आन्तरिक उडान हुने यती एयरलाइन्सका हवाई सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यतीले हाल ९ गन्तव्यमा उडान भर्दै आएको छ ।

प्रेम दिवसमा विशेष अफर
प्रेमदिवस ‘भ्यलेन्टाइन डे’ फेब्रुअरी १४ लाई मध्यनजर गर्दै यती एयरलाइन्सले पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ मा विशेष अफर सार्वजनिक गरेको छ । पर्वतीय उडानमा जाने यात्रुलाई विमानस्थलदेखि घरसम्म यातायात सेवा उपलब्ध गराइनेछ । टिकट भने पुरानै मूल्य अथार्त रु आठ हजार ८४८ तोकिएको छ । अफर अन्तर्गत पर्वतीय उडानका यात्रुलाई प्रेम उपहारका साथै आठ जिबी डेटा तथा रु एक हजार क्यास बराबरको स्मार्ट टेलिकमको सीमकार्ड दिइनेछ ।




Comments are closed.