धुलिखेल । कोभिड महामारीको कारण लामो समयको लकडाउनले काठमाडौंकी सुरुची हमाल महिनौं घरमै बसिन् । लकडाउन खुलेसँगै कार्यालय र घरको काममा व्यस्त । कोभिड संक्रमणको त्रास कायमै थियो । कोभिडको त्रास कायमै रहेपनि अहिले सबै क्षेत्र खुल्ला भइसकेका छन् । मानिसहरु फुर्सदमा आफूलाई मन परेको ठाउँमा घुम्न जाने क्रम बढिसकेको छ । परिस्थिति विस्तारै पुरानै लयमा फर्कदै छ ।
परिस्थिति सहज भएसँगै सुरुचीलाई पनि साथीहरुसँग मिलेर घुम्न जाने र रिफ्रेस हुने इच्छा जाग्यो । उनलाई साथ दिए साथीहरु अस्बिना ढकाल र रस्मा ब्यान्जूले । टाढा जान अझै सहज वातावरण बनिसकेको छैन । उनीहरुको पहिलो रोजाईमा पर्यो काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य धुलिखेल । धुलिखेल गएपछि जिपलाइन नगरी फर्कन उनीहरुको मनले मानेन । सुरुची र उनका साथीहरु मात्रै होइन यतिबेला धुलिखेल पुग्ने र जिपलाइनको मज्जा लिने आन्तरिक पर्यटक बढेका छन् ।
वल्ड वाइड एड्भेन्चर प्रा.लि.ले सञ्चालन गरेको धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्कमा पछिल्लो समय आन्तरिक पर्यटकहरु बढेको अध्यक्ष केदार थापाले बताए । प्रा.लि.मा सिन्धुपाल्चोकका केदारसहित काठमाडौंका भुपेश श्रेष्ठको लगानी छ । थाक्लेडाँडामा टेक अफ रहेको जिपलाइनको ल्यान्डिङ स्टेसन खावा पाँचखालमा छ । ११ सय मिटरको दुरीमा जिपलाइन गरी सहासिक पर्यटन गतिविधिको अनुभव लिन पाउँदा निकै मज्जा आएको त्यहाँ पुगेका रोशनकुमार श्रेष्ठले बताए ।

भर्टिकल ड्रप दुई सय ४० फिटको छ । ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा जिपलाइन गर्न सकिने सञ्चालक भुपेशले जानकारी दिए । व्यक्तिको तौल, हावाको गति र बहाव अनुसार औसत समय १ मिनेट २० सेकण्ड कायम गरिएको छ । युरोपियन र अमेरिकी सुरक्षा मापदण्डमा आधारित भइ भारतीय प्राबिधिकद्वारा निर्माण गरिएको यो जिपलाइनमा सुरक्षालाई प्राथमिकतामा राखिएको उनले बताए ।

जिप लाइनका लागि १६ वर्ष उमेर पुगेको हुनुपर्छ । १३ देखि १५ वर्षका बालबालिकाले जिपलाइन गर्न चाहेमा अभिभावकको अनुमति अनिवार्य छ । क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्ने सुविधा यहाँ उपलब्ध छ । सुपरम्यान र टेन्डम (जोडी) जिपलाइन नेपालमै पहिलो हो । ‘नेपाल सरकारको नियम अनुसार दुर्घटना बिमा सुविधा उपलब्ध छ,’ अध्यक्ष थापाले भने ।
२०१९ फेब्रुअरी १४ देखि यहाँ जीपलाइन सेवा औपचारिक रुपमा सञ्चालनमा आएको हो । यहाँ आउने पर्यटकलाई लक्षित गरी ८ कोठा सहित सुबिधा सम्पन्न रिसोर्ट पनि सञ्चालनमा ल्याइएको छ । ट्री अप (रुख माथि नै बसेर खान मिल्ने गरि बनाइएको रेस्टुरेन्टले पनि धेरै पर्यटकलाई आकर्षित गर्ने गरेको सञ्चालक थापा बताउँछन् । खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा करिब २० रोपनी क्षेत्रफलमा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्कको मज्जासमेत पर्यटकले लिन पाउँछन् । जहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमालको दृश्यावलोकन गर्न सकिन्छ । परियोजनामा ५ करोड रुपैयाँ लगानी भएको बताइएको छ ।
कति लाग्छ शुल्क ?
क्लासिक (साधारण) जिपलाइनको नेपालीलाई २ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ । यति शुल्क तिरेपछि जिपलाइनको फोटो र भिडियोसमेत प्राप्त गर्न सकिन्छ । सार्क देशका नागरिकलाई ३० डलर र अन्य देशका नागरिकलाई ३५ डलर शुल्क कायम गरिएको छ ।

सुपरम्यान जिपलाइनका लागि नेपालीलाई ३ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ भने फोटो र भिडियोको थप ५ सय रुपैयाँ तिर्नुपर्छ । सार्क देशका नागरिकले ४० डलर र अन्य देशका नागरिकले ४५ डलर शुल्क तिर्नुपर्छ । टेन्डम जिपलाइनका लागि नेपालीलाई ४ हजार ५ सय रुपैयाँ शुल्क लाग्छ भने फोटो र भिडियोको थप ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । सार्क देशका नागरिकले ५० डलर र अन्य देशका नागरिकले ६० डलर शुल्क तिर्नुपर्ने व्यवस्था छ ।




Comments are closed.