पोखरा । विश्व स्तनपान सप्ताहको अवसरमा जोन्टा क्लव अफ पोखराले स्तनपान सम्वन्धी शिक्षा र समर्थन कार्यक्रम संचालन गरेको छ ।
क्लवले दिवसको पहिलो दिन सोमवार पोखरा महानगरपालिका वडा नम्बर ३ मा सुरक्षित स्तनपान कक्षको स्थापनाका साथै सचेतनामुलक कार्यक्रमसम्पन्न गरेको छ ।
कार्यक्रममा वोल्दै पोखरा -३ का वडाअध्यक्ष प्रकाशमान उदासले स्तनपानलाई एक महत्त्वपूर्ण सार्वजनिक स्वास्थ जिम्मेवारीका रुपमा समर्थन र वहस गर्न आवश्यक रहेको वताए । उनले स्तनपान सुरक्षाको महत्वारे मानिसलाई जनचेतना जगाउन सके मात्रै सार्वजनिक जनस्वास्थ्यमा सुधार गर्न सकिनेमा जोड दिए ।

स्तनपान सामान्य तर अति महत्वपूर्ण हो भन्ने स्थापित गराउन र यसको महत्व समाजमा सहजै स्वीकार्य वनाउन आफ्नो तर्फबाट पनि पहल गर्ने उनको भनाइ थियो ।
जोन्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले वच्चा जन्मेपछि ६ महिना सम्म आमाकै दूध खुवाउनु पर्नेमा जोड दिदै आमाको दुध वाहेक अन्य कुरा खुवाउँदा वच्चाको स्वास्थ्यमा असर पर्नेमा जोड दिइन् । स्तनपान सम्वन्धी सचेतनामुलक कार्यक्रम पोखराका विभिन्न वडा कार्यलयहरुसंगको सहकार्यमा सप्ताहव्यापी रुपमा संचालन गरिने अध्यक्ष थापाले जानकारी दिइन् ।
कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा.प्रविण श्रेष्ठले स्तनपानको महत्त्वका विषयमा सहजीकरण गरेका थिए । त्यसैगरी फिजियोथेरापी डाक्टर सुव कोईरालाले गर्भवती र सुत्केरी अवस्थामा महिलाले गर्नु पर्ने व्यायामका विषयमा सहजिकरण गरेका थिए । त्यस्तै, पोषण तथा आहार परामर्शदाता डाक्टर विद्या रघुनादन कायस्थले सन्तुलित भोजनका विषयमा सहजिकरण गरेकी थिइन् ।
जोन्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा -३ का वडा सदस्य शान्तिदेवी पराजुली ,वडा सचिव चन्द्रावति वाग्ले,जोन्टा क्लव अफ पोखराका सृजना भट्टराई लगायतले स्तनपानको महत्का विषयमा बोलेका थिए । जोन्टा क्लव अफ पोखराका कोषाध्यक्ष अन्जना तझ्याले कार्यक्रमको संचालन गरेका थिइन् । कार्यक्रममा पोखरा-३ का गर्भवती र सुत्केरी अवस्थाका महिला सहित ४० जनाको सहभागीता रहेको थियो ।
पछिल्लो समय खासगरी सहरी क्षेत्रमा कामकाजी महिलाले समय अभावका कारण पनि वच्चालाई स्तनपानमा भन्दा वट्टाको दुधमा जोड दिएको पाईन्छ । वालरोग विशेषज्ञहरुको अनुभवमा पछिल्लो समय नयाँ आमाहरुले दुध नआएको भन्दै वट्टाको दुध वा लिटो खुवाउने प्रवृति बढेको पाईन्छ । १ अगष्ट देखि ७ अगष्टसम्म विश्व स्तनपान दिवस सप्ताह मनाउने गरिन्छ ।





Comments are closed.